काली बहादुरलाई हल अफ फेम अवार्ड 

नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगर लन्डन इन्टरनेशनल हल अफ फेमबाट सम्मानित भएका छन् । मास्टर कालीबहादुर १५औँ लन्डन इन्टरनेशनल हल अफ फेममा सम्मानित भएका हुन् ।
हाप्किडो खेलको विकासमा पु¥याएको योगदानको कदर स्वरूप उनी सम्मानित भएका हुन् । उनीसँगै १९ देशका अरू ७९ जनाले पनि यो अवार्ड प्राप्त गरेका छन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने भने उनी एक्ला हुन् ।
मास्टर कालीबहादुर दुई वर्षअघि म्युनिख हल अफ फेमबाट पनि सम्मानित भएका थिए । आत्मरक्षा सम्बन्धी खेल हाप्किडो सन् २०१६ मा कालीबहादुरले नै नेपाल भित्राएका हुन् । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घको रूपमा दर्ता भएको छोटो समयमै देशको धेरै ठाउँमा फैलाउन सफल हाप्किडो थोरैमध्येको खेल हो ।
हाप्किडोको अहिले सातै प्रदेशमा गरी ५४ जिल्लामा शाखा विस्तार भएको छ । यसै वर्षको सुरुवातमा अन्तर्राष्ट्रिय मार्सल आर्ट हाप्किडो सेमिनारको आयोजना गरेको सङ्घले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ ।
सङ्घले जिल्ला सङ्घको विस्तारसँगै खेल पूर्वाधारको विकासमा पनि जोड दिँदै आएको छ । सङ्घले दाङ, नुवाकोट र पोखरामा जग्गा लिएर आफ्नो छुट्टै ट्रेनिङ सेन्टर निर्माणको काम सुरु गरिसकेको छ । धरानमा कभर्डहल निर्माणका लागि जग्गा प्राप्त गरेर प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय निकायबाट प्राप्त यस्ता सम्मानले खेल विकासमा थप हौसला मिलेको उनले बताए ।
Comment