पूर्व बक्सर शर्मालाई आर्थिक सहयोग

 पूर्व बक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ सङ्घका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
बुधवार मरु गणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए ।
वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।
नेपाल बक्सिङ सङ्घका सदस्य श्रेष्ठले पूर्व बक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए । ‘उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौँ’, उनले भने, ‘देश तथा विदेशबाट सहयोग सङ्कलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्ने छौँ ।’
नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपत् विपद्मा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन् । उनले केही महिना अघि आफ्नै निजी खर्चमा १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्री जर्जको कोरोना बिमा गरिदिएका थिए ।
Comment