गर्भवती समेत रहेकी चन्द्रकला माथि हमला

गर्भवती समेत रहेकी चन्द्रकला माथि जातीय भेदभावको नाममा हमला भएको छ । झापामा उनी माथि यो दुर्घटना भएको हो । उनी माथि भएको यस्तो निन्दनीय कार्यको सर्वत्र विरोध भइरहेको छ । यो घटनालाई मानव सभ्यतालाई नै कलङ्कित बनाउने दुर्घटनाको रूपमा समेत व्याख्या गरिएको छ ।
घटना विवरण यस्तो छ
सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज गर्दै लखेटिरहेका थिए । जातीय विभेदयुक्त शब्दमा गाली गर्दै आइरहेका उनीहरूलाई चिया पसलकी सञ्चालक तथा कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेले रोक्न खोजिन् । र, ‘अहिलेको जमानामा पनि किन जातीय विभेद गर्ने शब्द बोल्नुभएको’ भन्दाभन्दै उनीमाथि नै जाइलागे श्रेष्ठ दम्पती । ‘तँ पनि तल्लो जातकी रैछेस् भन्दै आक्रमण गरे,’ चन्द्रकला भन्छिन् । श्रेष्ठ दम्पतीको निर्घात कुटपिटबाट नेपाल पुलिस क्लबमा आबद्ध एथलेटिक्स खेलाडी चन्द्रकला सख्त घाइते भएकी छिन् । सात महिनाकी गर्भवती उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
चन्द्रकला र उनका पति सुमन खाती चारआलीस्थित राजन दर्जीकै जग्गामा रहेको गुम्तीमा चियापसल चलाउँछन् । श्रेष्ठ दम्पतीको घरमा पनि होटेल सञ्चालनमा छ । राजन उक्त होटेलमा क्यारेमबोर्ड खेलेको हेर्न गइरहन्थे । सोमबार पनि उनी खाजा खान सोही होटेलमा पुगेका थिए । कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ नेपाली सेनाबाट सेवानिवृत्त हुन् । श्रेष्ठ दम्पतीले उनलाई दलित भएकैमा हेपेर बोल्ने गर्थे । दलित समुदायलाई होच्याउने तुच्छ शब्द प्रयोग गर्दै गाली गर्थे । सोमबार खाजा खाँदै गर्दा दुर्गा श्रेष्ठले एकाएक राजनलाई बेल्टले पिट्न थाले । कसैले छुट्याउन सकेनन् । त्यसपछि राजन उनीबाट भागेर चन्द्रकलाको चियापसलमा गुहार माग्दै पुगे । चन्द्रकलाले रोक्न खोज्दा ‘तँ कोरोना बोकेर आएकी छेस्’ भन्दै उनीमाथि पनि बेल्टले निर्घात कुटपिट गरे ।
तीन महिनाअघि राजन भारतबाट आएका एक साथीसँगै नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । तर, पछि दुवैजनाको रिपोर्ट नेगेटिभ आयो र घर फर्किए । त्यसयता दर्जीलाई श्रेष्ठ दम्पतीले कोरोना बोकेर आएको भन्दै जातीय विभेदयुक्त शब्दमा गालीगलौज गर्दै आएका थिए ।

सोमबार राति नै उनीहरू कुटपिटबारे जानकारी गराउन चारआलीस्थित प्रहरी चौकीमा गए । प्रहरीले दुवै पक्षलाई मिल्न भनेको थियो । राति १२ बजेपछि छटपटाउन थालिन् । र, उनलाई मध्यरातमा स्थानीय मनकामना अस्पताल पुर्‍याइयो । ‘कुटपिट गर्नेबित्तिकै त खासै केही भनिनन् । राति १२ बजे सुत्नै नसकेर छटपटाइन् । हतार–हतार नजिकैको अस्पताल लगेँ । त्यहाँ ठीक नभएपछि यहाँ (बिएन्डसी) ल्याएका हौँ,’ सुमनले भने, ‘उनी (चन्द्रकला)चाहिँ ठीकै छिन् । तर, पेटको बच्चालाई असर परेका कारण रेस्ट गर्नुपर्ने डाक्टरले बताएका छन् ।’

दलित समुदायकै खेलाडी चन्द्रकलाले प्रतिकार गर्दै जातीय रूपमा गाली नगर्न आग्रह गरिन् । ‘तर, ममाथि उल्टै हात हालियो । तँ पनि तल्लो जातकी रहिछस् र त यसको पक्षमा बोलिस् हैन भन्दै कुटपिट भयो,’ उनले भनिन्, ‘म सात महिनाकी गर्भवती हुँ । सुरुमै मेरो पेटमा विष्णुले प्रहार गरिन् । पछि उनका श्रीमान्ले बेल्टले हाने । मलाई जोगाउँदा मेरो श्रीमान् (सुमन खाती)को जिउभरि निलडाम छ ।’

जति कुटाइ खाए पनि जातीय विभेदविरुद्ध आवाज उठाइरहने चन्द्रकला बताउँछिन् ।

चन्द्रकला नेपाल प्रहरीको एथ्लेटिक्स खेलाडी हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । कोरोना महामारीका कारण चैतमा देशव्यापी लकडाउन भएसँगै पुलिस क्लबमा आबद्ध खेलाडीले पनि बिदा पाए । गर्भवती रहेकी उनी लकडाउन पछि घर गएकी हुन् ।  नौ महिनाअघि विवाह गरेकी चन्द्रकलाका श्रीमान् सुमनको कुनै रोजगारी थिएन । चन्द्रकलाको कमाइले परिवार पाल्न धौ–धौ थियो । काठमाडौंको महँगी थेग्न नसकेपछि सुमनले जुत्ता पसलमा काम थालेका थिए । तर, लकडाउनले उनी कामविहीन भए । ‘काठमाडौंमा त बस्न सक्ने अवस्था नै भएन । उनको (चन्द्रकला) पनि बिदा भयो । दुई जिउकी पनि भइन् । झापा जाँदा सहज हुन्छ भनेर यहाँ आएका हौँ,’ सुमनले भने । झापा आएर सुमनले चारआलीमा गुम्तीमा चिया पसल खोले । चन्द्रकलाले पनि त्यहीँ सहयोग गर्छिन् । सोमबार राति पनि गुम्तीमै खाना खाइरहेकी उनीमाथि आक्रमण भएको थियो । ‘अहिलेसम्म कति गेम खेलेँ, कहिल्यै जिउ दुखेको थिएन । उनीहरूको कुटाइले जिउ छुनै भएको छैन,’ चन्द्रकलाले भनिन्, ‘अहिले त उभिन पनि सक्दिनँ ।’

कुटपिट गर्नेविरुद्ध उजुरी

जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले श्रेष्ठ दम्पती पक्राउ परेको जानकारी दिए ।

डिएसपी थापाका अनुसार जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारको अगुवाइमा चन्द्रकलाका श्रीमान् सुमनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । ‘त्यो परिवारले बारम्बार जातीय विभेद गरेको गुनासो आइरहेको थियो,’ परियारले भनिन्, ‘जातीय विभेद सहेर बस्नुहुँदैन भनेरै हामीले मुद्दा दर्ता गर्न लगाएका हौँ ।’

घटनामा संलग्नलाई कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । जातीय विभेदका घटनामा कारबाही भएको नजिर बसाउन सके त्यस्ता घटनामा कमी आउने दलित अधिकारकर्मी हुकुमसिंह नेपाली बताउँछन् । ‘ती मान्छे पहिलादेखि नै पैसाको अहंकार देखाउने उद्दण्ड रहेछन् । दलितलाई देख्नेबित्तिकै कोरोना ल्याइस् भन्ने गर्दै हीनताबोध गराउँदा रहेछन्,’ नेपाली भन्छन्, ‘दलितलाई दमनै गर्ने हो, पुर्खादेखि दमन नै गरेको हो भन्ने मनस्थितिले यो घटना गराएका हुन् । समाजमा सबै खाले विभेद अन्त्य गर्न घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्छ । हामीलाई मिल्न दबाब आएको छ, तर पछि हट्दैनौँ ।’

Comment