सदस्य सचिवका लागि शारीरिक सुगठन खेलाडी रोशनको दाबी


राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि शारीरिक सुगठन खेलको तर्फबाट रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो व्यक्ति भएका छन् । उनले १ नं.मा निवेदन दर्ता गरेको छनाइएको छ ।
खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि निवेदन आहन गरे पश्चात् उक्त पदका लागि उपयुक्त उम्मेदवारका रूपमा महर्जनले निवेदन दिएका हुन् ।
ललितपुर महानगरपालिका वडा नं. १७ निवासी महर्जन २०५० साल देखि खेलकुद क्षेत्रमा लाग्दै आई रहेका व्यक्तित्व हुन् । स्नातकोत्तर अध्ययन गरेका महर्जन दुई दशक देखि सूचना प्रविधि र शिक्षा क्षेत्र सँग पनि आबद्ध रहँदै आई रहेका छन् ।
नेपालकै सबै भन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरमा विगत १० वर्ष देखि कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा चिन्तन र मनन गर्दै आई रहेका महर्जन सानोमा कराँते खेल (सितेरियो) खेलाडीका रूपमा अगाडी बढेका थिए । तर स्वस्थ र बलिष्ठ शरीर बनाउने सोचले शारीरिक सुगठन तर्फ आकर्षित हुँदै २०४८ साल देखि फलाम उचाल्न थालेका उनले २०५० सालमा पाटनको पहिलो जिम खाना नाईन प्वाइन्ट हेल्थ क्लबबाट औपचारिक रूपमा शारीरिक सुगठनका खेलाडी हुँदै विभिन्न प्रतियोगितामा जित निकाल्दै उत्कृष्टता प्रदान गरिसकेका छन् ।
राजनीतिक हस्तक्षेप नभई स्वतन्त्र रूपमा सदस्य सचिवको छनोट हुने हो भने आफू स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन् ।
२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका महर्जनले ईन्टरनेशनल फेडेरेशन अफ बडिबिल्डिङ्ग अन्तरगतको नेपलिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एन्ड फिटनेसद्वारा आयोजना गरिएको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरी सकेका छन् । हाल उनी दक्षिण एसियाली शारीरिक सुगठन सङ्घको निर्णायक कमिटीको अध्यक्ष समेत रहेका छन् । महर्जनले आफू सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारण प्रस्तुत गरेका छन् ।

Comment