आखिर उनी त व्यापारी नै हुन्

नयाँ खेलकुद ऐन सँगै पदावधि सकिएका राष्ट्रिय खेलकुद परिषद्( राखेप)का निवर्तमान सदस्य सचिव रमेश सिलवालको कार्यकालको समीक्षा भइरहेको छ । यो क्रम छापा, अन्य सञ्चार माध्यम देखि चिया गफसम्म कायम छ । सिलवालका केही आफ्नै विशेषता रहे । यस बिचमा भएको १३ औ दक्षिण एसियाली खेलकुद(साग)को आयोजना र प्राप्त पदक तालीकालाई हेरेर उनलाई सफल सदस्य सचिव भन्नेहरूको पनि जमात छ । तर, साँचो के हो भने राष्ट्रिय टिम तयारी समिति र खेलाडीलाई निरन्तर प्रशिक्षणको अवधारणा ल्याउने पूर्व सदस्य सचिव युवराज लामाको योजनाका कारण नेपालले राम्रो सफलता पाएको कुरा नकार्न मिल्दैन । यसका साथै अन्य देशले सहभागी गराएको टोलीको स्तर पनि केही आधार होला ।
रमेश सिलवालका बारे धेरै चर्चा छन् । शिक्षा कर्मी , खेल कर्मी या राजनीतिक कार्यकर्ता ? सर्वै क्षेत्रमा उत्तिकै चासो दिए पनि उनको विगत र लगभग एक वर्षे सदस्य सचिव कार्यकाललाई हेर्ने हो भने उनी मूल रूपमा व्यापारी मात्र भएको आरोप लगाउनेको पनि कमी छैन । अन्य सबै क्षेत्रलाई उनले नाफा केन्द्रित हुँदै लगानी क्षेत्रको रूपमा मात्र प्रयोग गर्ने गरेको कुरा पनि उठ्ने गरेको छ ।
अव हेरो, यी सबै क्षेत्रमा रमेशको भूमिका र स्थायित्वको । कुनै समय युवा सङ्घको राजनीति गरेका रमेशले हिमालयन ह्वाइट कलेज मार्फत शिक्षाको व्यापारमा प्रभाव जमाएका थिए । यो समूह लामो समय एकजुट हुन नसके पछि गोल्डेनगेट कलेजको स्थापना भएको थियो । यो भन्दा अघि नै उनी नेपाल क्रिकेट सङ्घ(क्यान)को उपाध्यक्ष भइसकेका थिए ।
उनको आर्थिक हैसियतसँगै बढेको राजनीतिक शक्ति ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भए पछि अझ चुलीमा पुगेको सर्व विदित नै छ । यस बिचमा रमेश सिलवालको खेलकुदमा रहेका भूमिका विगत देखि नै विवादित पनि रहे ।
उनी पनि नेतृत्व तहमा रहेको विनय राज पाण्डे अध्यक्षताको क्यान विघटन गर्दै तत्कालीन सदस्य सचिव युवराज लामाले टङ्क आङबुहाङलाई अध्यक्ष बनाए पछि सिलवाल क्यानबाट टाढा भएका थिए । चितवन महाधिवेशन पछि विवाद रहित रहेको नेपाली क्रिकेटमा विवाद थप्ने काम पूर्व सदस्य केशव विष्टले विघटन गर्दै गरेका थिए । विष्टको त्यो कदमलाई साथ दिँदै रमेश सिलवालले अध्यक्ष पद स्वीकारेका थिए । नेपाली क्रिकेटलाई लामो समय पछाडि धकेल्ने यो कदमका एक मुख्य पात्र ती नै सिलवाल थिए । राजनीतिक हस्तक्षेपलाई अन्तर्राष्ट्रिय निकायले साथ दिँदैन भन्ने कुरा समेत उनले बुझ्न सकेनन् । आफू सदस्य सचिव भइसके पछि क्रिकेट बिगार्नेका नाम सार्वजनिक गर्ने त उनले बताए । परन्तु उनले यो हिम्मत गरेनन् । धेरैको के मत रहेको छ भने उनले चतुर बहादुर चन्दको समूहले अधिबशेन मै जित हात पारे पछि उनले क्रिकेटका बारे कुनै धारणा सार्वजनिक गर्ने नैतिक हिम्मत नै गरेनन् । रमेश सिलवाल र विष्ट समूहले चन्द नेतृत्वलाई अस्वीकार गरेका कारण सुरु भएको विवाद चन्द नै अध्यक्ष भए पछि सकिएको थियो । साँचो भनौँ भने गत वर्ष भएको क्यानको साधारण सभाले चन्दलाई फेरी अध्यक्षमा निर्वाचित मात्र गरेन, विष्ट र सिलवाललाई नैतिक रूपमै ठुलो पराजयको स्वाद पनि चखाएको थियो ।
१३ औ दक्षिण एसियाली खेलकुद(साग)को हिसाब किताब तीन महिनामा सार्वजनिक गर्ने कुरामा चुकेका सिलवाल यसै साग खेलको दौरान अन्य विविध विषयमा चुकेका थिए । पहिलो त परिषद् मार्फत भुक्तानी गर्न पर्ने रकममा नै महिनौँ झुलाउने काम समेत भएको थियो । खेलाडीको पुरस्कार रकम पनि सार्वजनिक कार्यक्रम सहित दिन सकेनन् । लकडाउन सुरु भइसके पछि खुसुक्क खातामा पठाइने काम भयो । जबकै साग खेल सकिएको लामो समय पछि लकडाउन सुरु भएको थियो ।
त्यसो त सिलवालको यो नै पहिलो विवादित कदम होइन । केही वर्ष पछि एमबिबिएस प्रवेश परीक्षाको प्रश्न पत्रको विवादमा उनी मुछिएका थिए । यस विवादका अन्य पाटा जे सुकै होस । तर, पुतलीसडकको निम्स र गोल्डेनगेटको साइनो तथा निम्सका विद्यार्थीको नतिजा भने लामो समयसम्म चर्चाका विषय हुन सक्छ । साथै छानबिनको विषय ।
खेलमा नकारात्मक भूमिका, । अझ भनौँ नेपाली क्रिकेटलाई विवादमा धकेल्ने प्रमुख पात्र सिलवालका शिक्षा क्षेत्रका विषय सँगै राजनीतिक विषयमा पनि भिन्न मत जाहेर भए । नेपाल पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष गोविन्द भट्टराईकै विचारमा राजनीतिक नियुक्ति पाए पनि उनले दलको घोषणा पत्र अनुसार कुनै काम गर्न सकेनन् । त्यसो त नेकपा समर्थित खेल निकायका व्यक्ति पनि उनी बाट सन्तुष्ट रहेनन् । सिधै अध्यक्षसङ सम्बन्धको धाक लगाउने सिलवालले खेलकुदमा पूर्ण रूपमा आफ्ना अन्य व्यापारिक लगानीसँग सरोकार राख्नेलाई मात्र महत्त्व दिने गरेको ठहर धेरैको छ ।
उनको कार्यकालमा खेलकुद मात्र होइन, उनी आबद्ध दलले पनि केही नपाएको ठहर नेकपा निकट धेरै खेल कर्मीको छ । त्यसो त मदन भण्डारी स्पोर्ट्र्स एकेडेमीका संस्थापक अध्यक्ष हुन् । जुन एकेडेमीको आवश्यकता र उपयोगिता अझै प्रस्ट हुन सकेको छैन । सिलवाल सहित यसका हालसम्मका नेतृत्व यो एकेडेमी होरु क्लब हो या भातृ संस्था के हो भन्ने पुष्टि गर्न सकेका छैन । धेरैले यो ओली निकट केही राजनीति कर्मीको खेलकुदको नाममा चलाइएको एउटा एनजिओ मात्र भएको ठहर पनि गरेका छन् । यो एकेडेमीको स्थापनाकाल देखि अहिलेसम्म लक्ष्यहीन र दिसाहीन यात्राकै कारण यसलाई बे अर्थको भएको आरोप लाग्ने गरेको हो ।
नेपाल ओलम्पिक कमिटीको निर्वाचनको समयमा पनि उनी सक्रिय रहे । त्यसै निर्वाचनमा पार्टी नेतृत्वलाई अझ भनौँ प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ गरेको तथा सामान्य कुरामा प्रधानमन्त्रीको नाम प्रयोग गरेकोमा पनि उनी आलोचित भएका थिए । उनको समर्थन रहेको समुह सो निर्वाचनमा पराजित भएको थियो ।
उनका यी तीनै क्षेत्रको भूमिका हेर्नेले भन्ने गरेका छन् “ सिलवाल नितान्त व्यापारी हुन्, अनि राजनीति र शिक्षा उनका लगानीका क्षेत्र । खेल मन बहलाउने र प्रतिष्ठा बटुल्ने ठाउँ । ”खेलकुदमा पाएको यो नियुक्तिलाई उनले अन्य व्यापारका सहयोगीलाई खुसी बनाउनै केन्द्रित गरेको उदाहरण थुप्रै छन् ।

Comment