उरुग्वेको पर्यटक टोलीसँग मैत्रीपूर्ण फुटबल खेल

विश्वभरि कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थामा नेपालमा भने एक मैत्रीपूर्ण खेल भएको छ । हालै नेपालमा उरुग्वे देशबाट आएका पर्यटक पाहुना टोलीलाई स्वागत गर्दै नेपालका तर्फबाट ‘एट आइज ट्राभल्स’ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । जावलाखेलको मैदानमा मङ्गलवार भएको उक्त खेलमा नेपालको प्रतिनिधि एट आइज ट्राभल्स एन्ड टुरसँग २—१ गोलको अन्तरमा फुटबल खेल सकिएको थियो ।
नेपालको ‘एट आइज ट्राभल्स एन्ड टुर’ लाई अर्जुन थापा मगरले नेतृत्व गरेका थिए भने टिमलाई एट आइज ट्राभल्स एन्ड टुरले आयोजना गरेको थियो । निकै रोमाञ्चक भएको खेलमा ७ औँ मिनेटमा उरुग्वेका पर्यटक खेलाडीले पहिलो गोल गरेका थिए । त्यसको जवाफमा एट आइज ट्राभल्स एन्ड टुरका तर्फबाट उद्धव खत्रीले नवौँ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याएका थिए । ४०औँ मिनेटमा उरुग्वेका पर्यटक खेलाडीले दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा नेपालको एट आइज ट्राभल्स एन्ड टुरका खेलाडीहरूले बल आफ्नो नियन्त्रणमा राखेर धेरै अवसरहरू सिर्जना गर्न सफल भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा खेल २—१ गोलको अन्तरमा खेल समाप्त भएको थियो ।
हरेक वर्ष २०१५ बाट आयोजना गर्दै आएको मैत्री पूर्ण फुटबल खेलबाट नेपाल र उरुग्वे बिचको सम्बन्ध अझ राम्रो हुने आशा रहेको एट आइज ट्राभल्स एन्ड टुरका प्रबन्धक नवीन गुरुङले जानकारी दिए ।

Comment