सिभिल बैङ्कको रञ्जना लिपि भएको परिचय पाटी सहितको भीमसेन स्थान शाखाको उद्घाटन


नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले शुक्रवार सिभिल बैङ्क लिमिटेडको भीमसेन स्थान शाखाको समुद्घाटन गरे । उद्घाटन समारोहमा वहाँले नेपालबाट बिदेसिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैङ्कबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तीय योगदान गरे देश आफै समृद्ध हुने बताए ।
उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाडौँ महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैङ्क भएकोमा सिभिल बैङ्कलाई बधाई तथा धन्यवाद दिए । आफूले बैङ्कलाई आफ्नो तर्फmबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
सो अवसरमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैङ्क भीमसेन स्थान शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए ।
सिभिल बैङ्कका अध्यक्ष इ. इच्छा राज तामाङले सिभिल बैङ्क समाजसँग निकट भएर सञ्चालन गर्ने नीति अनुरूप भीमसेन स्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरूप गरिएको र बैङ्कले आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने कुरा बताए ।
समारोहका अध्यक्षता गरेका तामाङले परोपकार आदर्श मा. बि.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैङ्कको सी.यस.आर. प्रोग्राम अन्तर्गत मासिक ३००० रुपैयाँका दरले १ वर्षको जम्मा ३६००० रुपैयाँको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे । सोही वडाका ज्येष्ठ नागरिक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बाग्मती प्रदेशका प्रमुख भोला बहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरी आशीर्वाद ग्रहण गरे ।
शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका साथै सिभिल बैङ्कका अध्यक्ष इ. इच्छा राज तामाङ्ग्, सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सिभिल बैङ्कका चिफ क्रेडिट अफिसर सचिन जङ्ग रायमाझी, सिभिल बैङ्कका बाग्मती प्रदेशका प्रमुख भोला बहादुर विष्ट लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैङ्कको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरू रहेका छन् । साथै बैङ्कले तथा ५२ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । सो बैङ्कले देशभर १०६ वटा शाखाहरू तथा २ एक्सटेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

Comment