ओमानसँग नेपालको हार

आइसिसी मेन्स क्रिकेट र्वल्डकप लिग २ को बिहीबार भएको खेलमा ओमानले नेपाललाई १८ रनले हराएको छ । बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रनमा सीमित भयो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोडे । भेषवाकर र दीपेन्द्र ऐरीले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । टोलीको कुल रन चार हुँदा ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपाल ऐरी र भेषवाकर क्रिजमा रहेसम्म जित उन्मुख रहेको थियो ।
नेपालका विनोद भण्डारीले २५ बलमा २६तथा सन्दीप लामिछानेले २७ बलमा २८ रन जोडे ।अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
ओमानमा जेसन मेहमुदले तीन तथा विलाल खान र खालेमुल्लाहले दुई÷दुई विकेट लिए । यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले अत्यन्त खराब सुरुवात गरेको थियो । १२४ रनमा सातौँ विकेट गुमाएको ओमानका लागि म्यान अफद म्याच घोषित मोहम्मद नदिमले ६९ रन जोडे । नदिमको योगदानसँगै ओमानले नौ विकेटको क्षतिमा १९७ रन जोडेको हो । नदिमका अलावा सन्दिम गौढको ३३ तथा नसिम खुसीले १८ बलमा जोडेको २८ रन महत्त्वपूर्ण रहन पुग्यो ।
नेपालका करण केसीले नौ ओभरमा ४७ रन खर्चिँदै चार विकेट लिए भने डेब्यु गरिरहेका सुसान भारीले १० ओभरमा १४ रन मात्र खर्चेर तीन विकेट लिए ।

Comment