प्रज्वलको नयाँ उचाइ


नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’ तर्फ अवार्ड जित्न सफल भएका छन् । हंगेरीको बुडापेस्टमा सोमबार राति विशेष समारोहमा उहाँले अवार्डसँगै आठ हजार अमेरिकी डलर पनि प्राप्त गरेका हुन् ।
यस अवसरमा उनलाई नेपाल खेलकुद पत्रकार मञ्च सिङ्गो कार्यसमिति र सम्पूर्ण सदस्यहरूको तर्फबाट हार्दिक बधाई दिएको छ । यस अवार्डले सिङ्गो नेपाली खेलकुद र पत्रकारिता जगतलाई खुसी बनाएको छ । नेपाली सञ्चार माध्यम र यहाँको पत्रकारिता विश्वका कुनै पनि मुलुकको भन्दा कम छैन भन्ने यो पछिल्लो ज्वलन्त उदाहरण भएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
द काठमाडौँ पोस्टका पत्रकार प्रज्वलले गत असार १९ गते ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेल सङ्घहरू पालिएका छन्’ शीर्षकमा समाचार लेख्नु भएको थियो । सोही समाचार विश्वभरका एक सय ८० देशका सयौँ पत्रकारले पठाएका समाचार मध्ये उत्कृष्ट बनेको हो । प्रज्वलसँगै स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोकको समाचार अवार्डका लागि शीर्ष तीनमा छनोटमा परेको थियो ।
अन्ततः फाइनलमा स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै प्रज्वलको लेखले अवार्ड पाएको हो । अवार्ड जितेपछि प्रज्वलले नेपाली खेलकुद पत्रकारिता र नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको बताए । उनले डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय हुनुहुन्छ । उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिस खेलमा हुने म्याच फिक्सिङबारे समाचार लेखेका थिए । एआईपीएसले गत वर्षदेखि ‘एआईपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ ।

Comment