राम (बोस)को रुपमा भारोत्तोलनले पायो कुशल नेतृत्व

हेभीवेट स्टार गोपाल पनि कार्यसमितीमा


नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको शनिबार ढिलो गरि सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार बर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । संघका पूर्व अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डनले संघको नेतृत्व त्याग्ने भए पछि संघको चुनावमा सरगर्मी आएको थियो ।
श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए । संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए । यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए । सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे ।


१० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन् । अन्य सदस्यहरुमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाहीले ३४ मत ल्याउँदै निर्वाचित भए । अजय र उमेश सि.के.को ३४÷३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारे । सदस्य तर्फ १० स्थानका लागि १५ जनाको उम्मेदवारी भएको । संघको कार्यकाल चार वर्षको हुनेछ । सदस्यमा निर्वाचीत गोपालले नेपाली भारोत्तोलनको हेभीवेट स्पर्धामा लामो समय प्रभाव पारेका थिए ।
पराजित अन्य सदस्यका उम्मेदवारहरु मध्ये सानु कुमार महर्जन २८, लिला राम पौडेल २६, कुलाराम थारु २४ र प्रधुम्न भारीेले २३ मत प्राप्त गरेका थिए ।
साधारण सभामा २३ कार्य समिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरि ६९ प्रतिनिधीहरु रहेकोमा ६० मत खसेको थियो । जसमा २ मत बदर भएको थियो ।
विजयी पदाधीकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत राखेप खेलकुद विकास विभाग प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथका साथै प्रमाण पत्र वितरण गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरेको निर्वाचन कार्यक्रममा ओलम्पिक कमिटिका तर्फबाट कमिटिका सचिव एवं जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले प्रतिनिधित्व गरेका थिए ।
बिजय पछि बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सवै संग मिलेर भारोत्तोलन खेलको विकास र विस्तारमा लाग्ने तथा संघको आफ्नो हल र भवन नभएकोले आफ्नै भवन निर्माण गर्ने तर्फ अग्रसर हुने बताए ।
भारोत्तोलन अध्यक्षमा निर्वाचीत श्रेष्ठले संघमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उनी खेलाडीका माझ लोकप्रीय व्यक्तित्व रहदै आएका छन् । उनको व्यवस्थापकीय नेतृत्वमा थ्रीस्टार क्लबले फुटबलमा थुप्रै सफलता हात पारिसकेको छ ।

Comment