बहु आयामिक खेल व्यक्तित्व राजन


एउटै व्यक्ति, बहुसङ्ख्यक खेल । पेसागत पर्यटन व्यवसायी । हो, यिनै बहु आयामिक व्यक्तित्वका खानी कास्कीका राजन पौडेल । उनी तेक्वान्दोका पाचौ डान । भोलन्टीयर प्रशिक्षक। उनी सानोमा फुटबल खेल्थे । बि.स २०५४ को कुरा हो । उनी एक्कासि थाले तेक्वान्दो खेल्न । पोखरा डोजाङका यी खेलाडीले तेक्वान्दामा यस पछि लामो यात्रा तय गरेका छन् ।
टेनिसमा उनको आफ्नो परिचय छ । पाको उमेरमा नै उनले यो खेल खेल्न थाले । हेटौडामा भएको प्रतियोगितामा भेट्रान तर्फका विजेता । सिटिजन बैङ्कले आयोजना गरेको टेनिस प्रतियोगितामा भेट्रान तर्फ नवीन चालिसेसँग मिलेर युगलमा उप विजेता ।
भलिबलका यिनी सिनियर राष्ट्रिय रेफ्रि । भलिबलमा यिनको लगाव त्यत्तिकै । अनि फुटबलका प्रशासक । कुनै समय यिनी कास्की जिल्ला फुटबल सङ्घका महासचिव । खेलकुदमा लागेको यो लामो समयको आरोह अवरोहमा यिनले सबै खेलमा कास्कीको प्रभाव देखेका छन् ।
एउटा समय थियो, पुष्प केसी वसन्त गौचन र विषन गौचन जस्ता राष्ट्रिय टोलीमा अटाएका फुटबल थिए कास्कीमा । रूपान्तरण भयो, अनिल ओझा, विजय गुरुङ, अनिल गुरुङ र शिव श्रेष्ठ फेरी राष्ट्रिय टोलीमा अटाए । अहिले कास्कीको फुटबल ओरालो लागेको छ ।
कुनै समय थियो नेपालको महिला भलिबलमा कास्कीको बलियो प्रभाव छ । त्यो प्रभाव अहिले छैन । त्यसो त उनी तेक्वान्दो खेल्ने समयकै कुरा हो , कास्कीलाई सपना मल्लको जिल्लाको रूपमा पनि चिनिन्थ्यो । अनि करातेमा बक्सिङका चित्र बहादुर गुरुङ लगायत अनेकन खेलाडीले कास्कीलाई एउटा उचाइ दिएका थिए ।
यी सबै देखेका राजनको बुझाइ छ,“ प्रशिक्षण र कार्य योजनामा निरन्तरता नभए पछि स्तर राम्रो भइरहने त सम्भावना नै हुँदैन नि ” राजनले बुझेका यही कुरा कास्कीका अन्य खेल अधिकारीले बुझे फेरी यो जिल्ला उही पुरानो उचाइमा पुग्ने कुरा भने नकार्न मिल्दैन ।

Comment