अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सुरु

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनिवार सुरु भएको छ । शनिवार कास्कीको पोखरा रङ्गशालामा अवस्थित कभर्डहलमा सेमिनारको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।
सो अवसरमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर साल्भाडोर कभालेरो पनि उद्घाटन समारोहमा उपस्थित थिए । यी चार जनासँगै सिनियर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् ।


समारोहमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ,नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका सल्लाहकार नवीन रोका मगर, सङ्घका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा परिषद्का पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापति मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहीनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्र मान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिति थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको बताइन् ।


ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधैँ सहयोग रहने बताए । सल्लाहकार मगरले सरकारले गर्नु पर्ने काम हाप्कीडो सङ्घले गरेको प्रतिक्रिया व्यक्त गरे । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले सबैको सहयोगले नेपाली हाप्कीडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौँ मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोस्ट्रेसन गरेका थिए । कार्यक्रम शैल्ताज कुँवरले सञ्चालन गरेकी थिइन् ।


सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको सहयोगमा आयोजित दुई दिने सेमिनारले खेललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउने विश्वास गरिएको छ ।
छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको यो एसोसिएसनले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्त्वपूर्ण हुने विश्वास लिएको आयोजक कमिटीले जनाएको छ ।

Comment