अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनारको तयारी पुरा


नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनारको सुरुवात शनिवार हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्रान्डमास्टरले प्रशिक्षण दिने सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहने छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको सहयोगमा आयोजना हुने दुई दिने सेमिनारको तयारी पुरा भइसकेको नेपाल हाप्कीडो मार्सल आर्ट्स एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरले जानकारी दिए ।
सेमिनारमा प्रशिक्षण दिन अमेरिकाका ग्रान्डमास्टर हि क्वान्ली र अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्च तथा स्पेन र इरानका मास्टर पनि नेपाल आइपुगी सकेका छन् । नेपाल आइसकेका ग्रान्डमास्टरले शुक्रबारनै गत एक साता देखि डेमोस्ट्रेसनको तयारीको रहेका खेलाडीको निरीक्षण गरेका छन् । करिब २ सय जनाले यो डेमास्ट्रेसनको तयारी गरेका छन् ।


अन्य मास्टर तथा खेलाडीको पनि आउने क्रम जारी छ । स्थापनाको छोटो समयमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको यस हाप्कीडो एसोसिएसनले नेपालमा स्थापना भएको वर्ष सन् २०१६ मा नै राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो । यसै गरी,सन् २०१८ मा पहिलो अधिवेशन गर्दै यो एसोसिएसन व्यवस्थित बनेको हो । यसै वर्ष मात्र यसले रोल्पामा पहिलो राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिसकेको छ । राष्ट्रिय च्याम्पियनसिप भन्दा अघि जिल्ला र प्रदेशका च्याम्पियनसिप तथा सेमिनारको समेत आयोजना भएको थियो । काठमाडौँ सहरमा मात्र केन्द्रित रहने धेरै खेलको परम्परा भन्दा टाढा रहँदै यस एसोसिएसनले आफ्ना कार्यक्रम विभिन्न भूगोलमा आयोजना गर्दे आएको छ । साथै नेपालको भिन्न सामाजिक परिवेशलाई यसले महत्त्व दिँदै आएको छ ।
यस बिचमा यस एसोसिएसनमा आबद्ध खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थुप्रै महत्त्वपूर्ण सफलता हात पारिसकेका छन् ।
छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको यो एसोसिएसनले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्त्वपूर्ण हुने विश्वास लिएको आयोजक कमिटीले जनाएको छ ।

Comment