एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीबारदेखि

अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ ।
प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए । ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । १ हजार २ सय खेलाडीको सहभागिता रहने जानकारी दिइयो ।
टिममा पहिलो हुनेले १ लाख, दोश्रोले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट दुई निर्णायकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङहरुलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरिने छ ।
एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए ।

Comment