समृद्ध रुकुम चेस प्रतियोगिता सुरु

तेस्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगिता मङ्गलवार रुकुमको खलङ्गामा सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले उद्घाटन गरिन् । उद्घाटन समारोहमा आयोजक कमिटीका प्रमुख सुबोध सेर्पाली, नेपाल बुद्धिचाल सङ्घ प्रदेश ५ का अध्यक्ष धनी राम ओली र नेपाल बुद्धिचाल सङ्घका सदस्य यज्ञराज पन्त लगायतको उपस्थिति थियो ।
स्विस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको दोश्रोे चरण सम्ममा शीर्ष बरियताका खेलाडी भारतका हरिस शर्मा सहित नेपालका मदनकृष्ण कायस्थ, सुरवीर लामा,कृष्ण थापा र मिलन लामाले विजयी सुरुवात गरेका छन् । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।
रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्त्वलाई प्रस्फुटित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले बताए । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Comment