सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला मुक्केवाज मिनु

मिनु गुरुङ सागमा स्वर्ण पदक जिते पछि

मिनु गुरुङ, साग खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला मुक्केवाज । १३ औ दक्षिण एसियाली खेलकुदमा ५४ किलो तौल समूहमा उनले स्वर्ण पदक जितेकी हुन् । चितवनकी २९ बर्सिया मिनु ०६७ सालमा नेपाली सेनामा प्रवेश गरेकी थिइन् । २०६८ मा देखि बक्सिङ खेल्न थालेकी उनले यो आठ वर्षमा यती सफल यात्रा तय गर्ने कुरा सायदै सोचेकी थिइन् ।
हुन त उनी सानो छदा कराँते खेलाडी थिइन् । तर, नेपाली सेना प्रवेश नितान्त जागिरे जिन्दगीको अभिप्रायले थियो । ०६८ मा भद्रकालीमा सैन्य प्रहरी थिइन् । त्यही रहँदा बक्सिङ खेलमा आबद्ध भइन् यत्ति चाँडो फड्को मारिन् की एक वर्ष नहुँदै लैनचौरमा भएको एक प्रतियोगितामा उनी उपविजेता भइन् । यस पछि झापामा भएको राष्ट्रिय प्रतियोगितामा उपाधि जिते पछि उनी लगातार सफल भएकी छिन् ।
चितवन भरतपुर महानगरपालिका १६ की स्थायी बासिन्दा मिनु देऊ प्रसाद गुरुङ र प्रेममाया गुरुङकी चार सन्तान मध्यकी एक । उनको सफलताले चितवन जिल्लाले गर्व महसुस गर्न सक्ने भएको छ । त्यसो त यस भन्दा अघि पनि उनले अन्य धेरै प्रतियोगितामा सहभागिता नजनाएकी होइनन् । इन्चोन एसियाडमा सहभागी उनले १२ औ दक्षिण एसियाली खेलकुदमा उनी सहभागी थिइन् । जहाँ उनले कांस्य पदक जितिन् । यसै समयमा मेरीकोमसंगै पोडीयममा उभिने अवसर उनका लागि अहिले पनि स्मरणीय छन् । यी यावत सफलता पछि पाएको सागको स्वर्ण पदक त कीर्तिमानको रूपमा नेपाली बक्सिङमा रहने छ ।

Comment