महिला ह्यान्डबलमा नेपाललाई रजत, फाइनलमा बन्दनाको ६ गोल

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै रजत पदकमा सिमित भएको छ ।

नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो ।

स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १÷१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३÷३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १÷१ गोल थपे ।

Comment