गल्फमा नेपाललाई दुई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) गल्फमा नेपालले दुई वटा स्वर्ण पदक जितेको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा सुक्रबार सम्पन्न खेलमा नेपालले पु्रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो । साग गल्फमा नेपालले जितेको यो ऐतिहासिक पहिलो स्वर्ण पदक हो । पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए ।

चार दिनको ७२ होलमा सु्वासले कूल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए । गल्फको अन्तिम दिन सुक्रबार सुवासले तीन अन्डर ६९ खेले । पुरुष टिम स्पर्धामा पनि नेपालले स्वर्ण पदक जित्यो । नेपालले आयोजक राष्ट्रको हिसावले गल्फ खेल राखेको थियो । टिम स्पर्धामा नेपालका सुवाससहित सुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ सहभागी थिए । टिम स्पर्धामा नेपालले कूल आठ सय ३८ स्कोर खेलेको थियो ।

पुरुष एकलमा बंगलादेशका मोहमद फराजले रजत जिते । उनले कूल ६ अन्डर दुई सय ८२ खेले । नेपालकै सुक्रबहादुर राईले कांस्य जिते । सुक्रले कूल चार अन्डर दुई सय ८४ खेलेका थिए । पुरुष एकलमा स्वर्ण जितेका सुवासले साग गल्फमा देशको लागि पहिलो स्वर्ण जिताउन पाउँदा खुशी लागेको बताए । ‘सागका लागि एक बर्षदेखि तयारी गर्दै आएको थिएँ । तयारीमा संघका अध्यक्ष तासी घलेले धेरै सहयोग गर्नुभयो । मैले चिप र पटमा राम्रो गर्दा उपाधि जित्न सकें । भविष्यमा गल्फमा अझै राम्रो गर्ने छु,’ ललितपुर लेलेका १७ बर्षीय सुवासले भने । टिम स्पर्धामा रजत जितेको बंगलादेशले आठ सय ५६ स्कोर खेल्यो । कांस्य जितेको श्रीलंकाले आठ सय ७८ स्कोर खेलेको थियो ।

यसैगरी महिला एकल र महिला टिम स्पर्धाको स्वर्ण श्रीलंकाले जितेको छ । महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले स्वर्ण जितिन् । ७२ होलमा ग्रेसले कूल आठ ओभर दुई सय ९८ खेलेकी थिईन् । बंगलादेशकी जाकिया सुल्तानाले रजत जितिन् । जाकियाले तीन सय १७ स्कोर खेलिन् । श्रीलंकाकै थुहासिनी सेल्भारातनमले कांस्य जितिन् । थुहासिनीले कूल तीन सय १८ स्कोर खेलिन् । महिला टिम स्पर्धामा स्वर्ण जितेको श्रीलंकाले कूल ६ सय सात स्कोर खेल्यो । रजत जितेको बंगलादेशले ६ सय ३९ र कांस्य जितेको नेपालले ६ सय ८१ स्कोर खेल्यो । नेपालको महिलामा टिममा कश्मिरा शाह, रविना श्रेष्ठ र सुस्मा कोईराला थिए ।

Comment