आयोजक पाँच नं प्रदेशलाई हाप्कीडोको राष्ट्रिय प्रतियोगिताको उपाधि

सहिद स्मृति मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिताको उपाधि आयोजक पाँच नम्बर प्रदेशले जितेको छ । उपाधि हात पार्ने क्रममा आयोजक टोलीले आठ स्वर्ण पदक जितेको हो । प्रदेश नम्बर ३ ले ६ तथा कर्णाली प्रदेशले दुई कांस्य पदक जितेको हो । प्रतियोगितामा पुरुष तर्फ ३ नम्बर प्रदेशका विशाल खड्का तथा महिलातर्फ आयोजक टोलीकी कविता घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भइन् । आयोजक टोलीका अशोक बुढा मगर उदीयमान खेलाडी घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि तथा परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डाँगी, नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगर तथा आयोजक कमिटीकी संयोजक यमुना घर्ती मगर लगायतले पुरस्कार प्रदान गरे ।


सोही अवसरमा बोल्दै प्रमुख अतिथि डाँगीले प्रतियोगितालाई सहजता पूर्वक सञ्चालन गर्न सहयोग गर्ने सबै खेलाडी प्रति आभार व्यक्त गरे । विशेष अतिथि केन्द्रीय अध्यक्ष घर्तीले हाप्कीडोले पछिल्लो समय नेपालमा तीव्र गतिमा फड्को मारेको बताए । उनले सहिदको नाममा भएको यो कार्यक्रमको सफलताले रोल्पा जिल्लाको गरिमालाई बढाएको धारणा व्यक्त गरे । आयोजक कमिटीकी प्रमुख यमुनाले प्रतियोगिताले रोल्पा जिल्लालाई नै नेपाली खेलकुदमा स्थापित गराएको बताए ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा रोल्पा जिल्ला मार्सल आर्ट्स हाप्कीडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घको सहयोगमा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक परिवर्तन गाउँ पालिका रहेको थियो । सात प्रदेश र आयोजक गरी आठ टोलीका २ सय हाराहारीको खेलाडीको सहभागिता रहेको थियो ।

Comment