रोल्पामा हाप्कीडोको राष्ट्रिय प्रतियोगिता


सहिद स्मृति मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि पाँच नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री बरालले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजलले यो प्रतियोगिताले परिवर्तन गाउँपालिकाको महत्त्वलाई बढाएको तथा देश भरी यसलाई परिचित गराउन सहयोग गरेको बताए ।
सोही अवसरमा बोल्दै परिवर्तन गाउँ पालिकाका अध्यक्ष निमकान्त डाँगीले रोल्पाको सांस्कृतिक विशेषतालाई प्रचार प्रसार गर्न र यसको बारेमा जानकारी गराउन सबैमा अनुरोध गरे ।

उनले प्रतियोगिताका कारण गाउँ पालिका देश भरी परिचित रहेको विचार व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले “गाउँ गाउँमा खेल, एकता र मेल” को नारालाई सार्थक तुल्याउन प्रत्येक गाउँमा खेलकुदको वातावरण तयार हुन आवश्यक रहेको उल्लेख गर्दै रोल्पाको गाउँमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको बताए ।


रोल्पा जिल्ला मार्सल आर्ट्स हाप्कीडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घको सहयोगमा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक परिवर्तन गाउँ पालिका रहेको छ । सात प्रदेश र आयोजक गरी आठ टोलीका २ सय हाराहारीको खेलाडीको सहभागिता रहेको छ ।

Comment