ढोरपाटनमा मेयर रनिङ गोल्ड कप असोज अन्तिम साता


बागलुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला आयोजना हुने भएको छ ।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकोत्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्ड कप असोज अन्तिम साता आयोजना गर्ने जानकारी दिएको हो ।
नेपालीहरूको महानपर्व दशैको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिका स्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सी, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ । यसबाहेक खुल्ला एकल नृत्य, सामूहिक नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविध झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ.वी.ले जानकारी गराए ।
प्रतियोगिता १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भन्दा कम रहे लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले जानकारी गराए । रनिङ गोल्ड कप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।
भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्ण जडित कपसँगै १ लाखरु रुपैयाँ हात पार्नेछ । दोस्रोले ६० हजार रुपैयाँ हात पार्नेछ । महिलाको विजोले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।
रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।
तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ । पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित लाग ३६ लाख रुपैयाँ रहेको छ ।

Comment