क्रिकेट संघको अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचीत

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वा्चित भएका छन् । क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन् । चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत ल्याएका हुन्।
उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन् ।श्रेष्ठले ४१ मत र उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याए छन् । त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी भएका छन्। प्याकुरेलले ४३ मत ल्याएका छन् भने मैनालीले १५ मत ल्याए । कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याए ।
त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमितवीर पाण्डे विजयी भए । यसअघि प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका थिए ।
यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन् । उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन् । केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ ।
खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन् ।

Comment