फिडेमास्टर रुपेश जयसवालको एकल अग्रता

फिडेमास्टर रुपेश जयसवालले काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स चेस प्रतियोगितामा एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताका शीर्ष खेलाडी रुपेशले बिहीबार सम्पन्न पाँचौँ चरणमा क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई हराउँदै अग्रता बनाएका हुन् । यसअघि चौथो चरणमा प्रेमकृष्ण महर्जनमाथि जीत हात पारेका जयसवालको ५ चरणको समाप्तिमा ४ दशमलव ५ अङ्क भएको छ ।
पूर्व राष्ट्रिय च्याम्पियन सुरवीर लामा, वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाईं, डायनामीक चेस एकेडेमीका क्यान्डीडेटमास्टर भूपेन्द्र निरौला, थापाथली चेस पार्कका आशिष फुयाँल तथा गजुरमुखी चेस क्लबका राजन सुवेदी समान चार—चार अङ्कका साथ प्रतियोगितामा संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।
चौथो चरणको खेलमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेलेका सुरवीरले पाँचौँ चरणमा सुमन लामालाई हराए । त्यसै गरी पुरुषोत्तमले चौथोमा निकेन कुसथालाई हराए भने पाँचौँ चरणमा भूपेन्द्रसँग बराबरी गरे । भूपेन्द्रले चौथो चरणमा गजुरमुखी चेस क्लबका क्यान्डिडेटमास्टर कृष्ण थापालाई हराए । तेस्रो चरणसम्म अग्रता बनाएका आशिष चौथो तथा पाँचौँ चरणमा क्रमशः नवीन तण्डुकार र सुमित पन्तसँग बराबरीमा चित बुझाए । उता राजन सुवेदीले भने चौथो तथा पाँचौँ चरणमा क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा र फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठमाथि शानदार जीत हात पारे ।
त्यस्तै तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, क्यान्डिडेटमास्टर क्षितिज भण्डारी, क्यान्डिडेटमास्टर सजिन महर्जन, थापाथली चेस पार्कका सुमित पन्त तथा जनार्दन श्रेष्ठ, गोल्डेनगेट कलेजका निकेन कुसाथा तथा सुदीप तामाङ, पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्य र थापाथली चेस पार्कका राजन पुरीको समान ३ दशमलव ५ अङ्क रहेको छ ।
नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत शुक्रवार छैटौँ चरणका खेल सञ्चालन हुनेछन् ।

Comment