अनु साग टोलीमा छनोट , चञ्चलाको पनि निरन्तरता ,नवीन पनि टोलीमा


नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का कराँते खेलाडीको अन्तिम छनोट बिहीबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए ।
पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए । उनले नेपाल आर्मीका परशुराम बास्तोलालाई पछि पारे । सोही स्पर्धाको महिलामा प्रहरीकै चन्चला दनुवार छनोट भइन् । चन्चलाले एनआरएनएकी सुभद्रा श्रेष्ठलाई पछि पारिन् ।
टिम काताको पुरुषमा मण्डेसहित आर्मीका प्रवीण मानन्धर र प्रहरीका महसुस तामाङ छानिए । उक्त स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ, आर्मीकी सङ्गीता मगर र प्रहरीकी सरु कार्की छनोट भए ।
पुरुष ५० केजीमा प्रहरीका सोनाम लामा तथा ५५ केजीमा एपीएफका लक्ष्मण तामाङ छानिए । फाइनलमा सोनामले आर्मीका शिव खत्री तथा लक्ष्मणले प्रदेश ३ का विजय श्रेष्ठलाई पराजित गरे ।
पुरुष ६० केजीमा प्रहरीका राजीव पुडासैनीले प्रदेश ४ का राजकुमार रसाइली, ६७ केजीमा प्रदेश ४ का नवीन रसाइलीले प्रदेश ५ का अर्जुन बाघचन्द, ७५ केजीमा प्रहरीका गङ्गाराम कुसवारले एपीएफका मुकुन्द्र महर्जन, ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले एपीएफका सुशील पौड्याल र ८४ केजीमाथि प्रदेश ३ का विप्लवलाल श्रेष्ठले आर्मीका लेखनाथ मैनालीलाई हराउँदै सागका लागि स्थान पक्का गरे । पुरुष ६० देखि ८४ केजीमाथिमा दोस्रो भएका सबै खेलाडी टिम स्पर्धाका लागि भने छनोट भएका छन् ।
महिला ४५ केजीमा आर्मीकी कुसुम खड्काले प्रदेश ३ की मिरा योञ्जन तथा ५० केजीमा एपीएफकी अनु अधिकारीले आर्मीकी मिस्ली श्रेष्ठलाई पाखा लगाउँदै छनोट भए ।
महिला ५५ केजीमा एपीएफकी मनीषा चौधरीले प्रदेश ३ की सुस्मिता वाइबा, ६१ केजीमा प्रदेश ४ की अनु गुरुङले प्रहरीकी एस्तर राई, ६८ केजीमुनि प्रहरीकी सुनिता महर्जनले आर्मीकी सनी तामाङ र ६८ केजीमाथि प्रहरीकी अनुपमा मगरले आर्मीकी रिता कार्कीलाई पन्छ्याउँदै छनोट भए । महिलामा पनि ५५ केजीदेखि ६८ केजीमाथिमा दोस्रो भएका सबै खेलाडी टिम स्पर्धाका लागि छनोट भएका छन् ।

Comment