आरिश र अनुष्का च्याम्पियन


सीसीआरसीकाद्वय आरिश महर्जन र अनुष्का प्रसाईं चौधौं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ च्याम्पियन बनेका छन् । आरिश पुरुष तथा अनुष्का महिलामा पहिलो बने ।
हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ को सेटमा पराजित गरे । ललितपुरकाद्वय रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला फाइनलमा अनुष्काले भक्तपुरकी दिया देउलालाई ११–६, ११–८, ११–९ र ११–७ को सोझो सेटमा हराइन् । विजेश्वरीकी अनुष्का सिम्खडा तथा ललितपुरकी प्रणिका कुँवर तेश्रो बने । पहिलो हुने आरिश र अनुष्काले समान ५–५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई प्रा.डा. सुरेन्द्र केसी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, स्व. हरेरामका छोरा पूर्व टेबलटेनिस प्रमुख प्रशिक्षक रमेशराज (आरआर) जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

Comment