दुइटा सङ्घ हुनु राम्रो होइन ः सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा सङ्घ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन् ।
नेपाल तेक्वान्दो सङ्घ प्रदेश ३ ले उनकै सम्मानमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘खेलकुद अनेकतामा एकता ल्याउने माध्यम हो । हिजोका दिनमा एउटा सङ्घ हुँदा हुँदै अर्को सङ्घ दर्ता गरेर किन विवादको बिउ रोपियो । मलाई थाहा भएन । तर यो कुरा राम्रो होइन । यो समस्याको समाधान गर्न आवश्यक छ ।’
सदस्य–सचिव सिलवालले आठौँ सागमा नेपालले तेक्वान्दोमा हासिल गरे उपलब्धि पछिका दिनमा किन खस्किँदै गयो त्यसको समीक्षा गर्ने बेला आएको बताउँदै कम्जोरी पत्ता लगाएर विगतको भन्दा राम्रो परिणाम ल्याउने अवस्थाको सिर्जना गर्न आवश्यक रहेको बताए ।
आयोजक सङ्घका अध्यक्ष केशव पुरीले सदस्य–सचिव सिलवालले शिक्षा क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको बताउँदै अब खेलकुदमा पनि त्यसै गरी राम्रो छाप छाड्न सफलता मिलोस् भनी शुभकामना दिए ।

Comment