नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार पदबहाली गरेका छन् । सिलवाललाई सोमबारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सदस्य–सचिवमा नियुक्त गरेका हुन् । पदबहाली अघि खेलकुद मन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल असार ९ गते सकिएपछि सदस्य–सचिव पद रिक्त थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्य–सचिवलाई आफूले पाएको जिम्मेवारीमा ढृद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताउदै निवर्तमान सदस्य–सचिवसंगको सहकार्य सुखद रहेको बताए ।
सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद बुझेकोले खेलकुदको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै निर्धारित समयमा साग सम्पन्न गर्नु मुख्य चुनौती रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले नवनियुक्त सदस्य–सचिवको कार्यकालमा खेलकुदले झन गति लिने बताउदै त्यस कार्यमा सबैको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त सदस्य–सचिव सिलवालले आफूले सबै भन्दा माया गर्ने विधा खेलकुद भएको बताउदै जागिर खान नभइ खेलकुदमा केहि गरौं भनेर खेलकुद परिषद्मा आएको बताए । उनले १३ औं साग अवसर र चुनौती दुवै भएको बताउदै साग समयमै आयोजना हुनु पर्छ भन्नेमा आफू सचेत रहेको बताए ।

Comment