निर्देशक गुरुङ्गलाई बिदाई

राष्ट्रिय टिम तयारीका निर्देशक ध्रुव गुरुङ्ग आजबाट उमेरहदका कारण राष्ट्रिय खेलकुद परिषदबाट स्वतः अवकाश हुनु भएको छ । उहाँलाई सोमबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदले औपचारीक रुपमा बिदाई गरेको छ ।
२०५२ सालमा प्रशिक्षकको रुपमा परिषद् प्रवेश गरेको गुरुङ्ग २०६३ सालमा द्वितीय श्रेणीमा पदोन्नती भई मिति २०७५ साल चैत्रमा राष्ट्रिय टिम तयारीको उपनिर्देशक हुनुका साथै २०७३ जेष्ठ १३ गते निर्देशकको रुपमा पदोन्नती भएका थिए । उनले आफ्नो कार्यकालमा विभिन्न जिल्लामा रहि तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएका थिए ।
अवकास हुँदै गरेका गुरुङ्गले आफुले परिषद्मा रहेर कामकाज गर्दा सवैबाट सहयोग र माया पाएको भन्दै परिषद्बाट बिदा भएता पनि खेलकुदबाट बिदा नहुने बताए ।
यस्तै, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जून बि.क.ले परिषदमा कार्य गर्दाका अवसरमा गुरुङ्गसंग विताएका दिनहरुको चर्चा गर्दै आगामी दिनमा पनि खेलकुद विकास र विस्तारमा गुरुङ्गको ज्ञान र सिपलाई प्रयोग गर्नु पर्ने बताए ।
बिदाई कार्यक्रममा राखेप प्रशासन प्रमुख बासुदेव आचार्य, तालिम तथा प्रशिक्षण विभाग तथा नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक, प्रमुख प्रशिक्षक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Comment