मञ्चको अवार्डमा रुस्लान सह–प्रायोजक


नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक बर्षको रहने छ । रुस्लान फुटबल अवार्ड कार्यक्रमको सह–प्रायोजकको रुपमा रहने उल्लेख छ ।
जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले खेलकुद क्षेत्रको विकासमा मञ्चले खेलेको भुमिकाको प्रशंसा गर्दै आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मञ्चका पुर्व अध्यक्ष महेश आचार्यले घरेलु खेलकुदमै प्रतिष्ठित अवार्डको गरिमालाई कायम राख्दै कार्यक्रमलाई विवादरहित बनाउने प्रतिबद्वता व्यक्त गरे । मञ्चका अध्यक्ष देबेन्द्र सुबेदीले नीजि क्षेत्रको सहयोगले अवार्ड सम्भव भएको भन्दै कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्वता व्यक्त गरे ।
नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तराष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसअघिनै कार्यक्रमको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनीक भईसकेको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने महासचिव प्रज्जवल ओलीले बताए । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाईकल रहेको छ । अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।

Comment