तेक्वान्दो एकेडेमीको उद्घाटन

सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे ।
८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्यारापिट, साधारण प्यारापिटलगायत छन् । भीआईपी प्यारापिट ३० जना तथा साधारण प्यारापिट ५ सय जना अटाउने क्षमताको छ । एकेडेमी निर्माण गर्न करिब ४ वर्ष ६ महिना लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । नेपाल सरकार मार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो । अघिल्लो दिन बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र निर्मित कराते एकेडेमीको पनि खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं सागमा नेपालले हासिल गरेको उपलब्धीलाई दोहो¥याउन एकेडेमी महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।

Comment