अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबारदेखि

नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको आयोजनामा प्रथम मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक आईकेकेएफ, नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस) ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट ६५, बंगलादेशबाट ८, पाकिस्तानबाट ३ र अफ्गानिस्तानबाट २ खेलाडीको सहभागिता रहने छ । २ सयमा बाँकी खेलाडी नेपालका रहने छन् ।
थिमीस्थित दुई पोखरीमा हुने दुईदिने प्रतियोगितामा पुरुषमा ५ तथा महिलामा २ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई मध्यपुर थिमी नगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २८ लाख रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठले जानकारी गराए ।
मेयर श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले भक्तपुरका पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विगतमा नगरपालिकाले खेलकुदका प्रतियोगिता आयोजना गर्न सहकार्य गर्दै आइरहेको बताए ।

Comment