ब्याडमिन्टन टोली चीन प्रस्थान

सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ । मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् । प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन् ।
प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाको वार्षिक साधारणमा भाग लिन चीन जाने छन् । अध्यक्ष श्रेष्ठ मे २१ मा जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसंग चीन गएका छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment