आइभन र प्रेरणा च्याम्पियन

आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन् । प्रेरणाले अश्लेषालाई ६–३ र ६–२ को सीधा सेटमा हराउदै उपाधि रक्षा गरिन् । एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो । गत बैशाखमा प्रेरणाले सिटिजन्स बैंक खुला टेनिस उपाधि जितेकी थिइन् । त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपीएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन् । पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए ।
मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए । पहिलो हुनेले ३५ हजार र दोश्रोले १७ हजार ५ सय नगद पुरस्कार हात पारे ।पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घले पहिलो भए । उनले फाइनलमा कमल थापालाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । कृष्णले १५ हजार तथा कमलले ७ हजार नगद पुरस्कार पाए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले बाजी मारे । गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी विरुद्धको फाइनलमा सुदर्शन र राजुको जोडी २–६, ६–१ र १०–६ ले विजयी भए । विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार थापे ।
पुरुष ४५ वर्षमाथि सिंगल्स फाइनलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१ र ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे । चन्द्रले २५ हजार तथा राजुले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भएका थिए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा ५ विदेशसहित १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।

Comment