पदक विजेता एनआरएनए खेलाडी सम्मानित

प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदको विभिन्न खेलका पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ ।आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमबाट सहभागी खेलाडीले ६ स्वर्ण, २ रजत र ७ कांस्य जितेका थिए । पौडीमा दोर्जे नेथन शेर्पाले सर्वाधिक ५ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए । लनटेनिसको पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले एनआरएनएलाई थप एक स्वर्ण दिलाए । उनले पुरुष डबल्समा दावा सोनाम शेर्पासंग मिलरे १ कांस्य पनि हात पारे । शुभद्र श्रेष्ठले करातेमा रजत जितिन् । अन्य कांस्य विजेतामा जुडोका मोहन बम, बक्सिङका प्रदीप घिमिरे, लनटेनिसका अमृत पौडेल र करातेकी शान्ति अधिकारी रहेका छन् ।
स्वर्ण विजेतालाई १ लाख, रजतलाई ८० हजार र कांस्यलाई ६० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो । सहभागी खेलाडीलाई पनि प्रोत्साहन स्वरुप जनही ५० हजार नगद प्रदान गरिएको थियो । एनआरएनबाट ७ राष्ट्रबाट विभिन्न ८ खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै एनआरएनएका सम्बन्धित खेलका प्रशिक्षक र रेफ्रीलाई पनि २५ हजारका दरले नगद पुरस्कार दिइयो । ८ प्रशिक्षक र २ रेफ्रीलाई नगद पुरस्कार दिइएको हो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, एनआरएनएका अध्यक्ष भवन भट्टलगायतले पुरस्कृत गरे ।

Comment