निर्माणलाई १७ औं स्नुकर उपाधि


काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे ।
घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र १०८–३० को प्रदर्शन गरे । करिब २० वर्षको करियरमा निर्माणको समग्रमा १७ औं उपाधि हो । राष्ट्रिय स्तरको प्रतियोगितामा भने ३६ वर्षीय निर्माण पहिलो पटक च्याम्पियन बनेका हुन् । यो सहित निर्माणले तीन राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका छन् । अमिरको भने ७ वर्षको खेल जीवनमा यो नै पहिलो प्रतियोगिता हो ।
उपाधिसंगै निर्माणले १ लाख १० हजार नगद पुरस्कार हात पारे भने अमिरले ४० हजार नगदमा चित्त बुझाए । निर्माणले अर्को उपाधिका रुपमा सर्वाधिक ब्रेककर्ताको उपाधि पनि चुमे । उनले ९३ को ब्रेक गरेका थिए ।
सुनसरीका सञ्जय वज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए । १६ वर्षीय मोरङका आयुश गौतम सहभागी मध्ये कान्छा खेलाडी भए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष चारपटकका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । स्नुकर संघको मख्य सहयोगमा फागुन २९ गतेदेखि सुरु प्रतियोगितामा १ सय २८ खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा फरक क्षमता भएका २ खेलाडीलाई दर्ता शुल्क नलिइ प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरिएको थियो ।
छनोट सोमबारदेखि ः
बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमबारदेखि सुरु हुँदैछ । छनोटमा साकुरा स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थानमा रहने खेलाडी तथा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ वरीयता गरी १६ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
साकुरा स्नुकरमा शीर्ष ८ मा रहने खेलाडीहरुमा निर्माण र अमिरसहित वाङछु चाप, विकेश राई, सञ्जय वज्राचार्य, उदिप शाक्य, आयुश गौतम तथा फुरी शेर्पा छन् । स्नुकर संघको वरीयतामा परेका खेलाडीमा राजन लामा, रेगन श्रेष्ठ, विकास श्रेष्ठ, सोम लामा, दीपक मगर, अमन कार्की, सुजेन शाही र मोती लामा छन् । यी आठ साकुरा स्नुकरमा सहभागी थिइनन् ।
स्नुकर संघका महासचिव केशवराज अधिकारीका अनुसार १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ । दुवै समूहको विजेताले ढाका यात्रा पक्का गर्ने छन् । ढाकामा प्रतियोगितामा जुलाई २१ देखि २७ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment