पलिस्था र राहुल सम्मानित


राष्ट्रिय मुवाँथाइ संघ नेपालले १६ औं मुवाँथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कांस्य जितेको थियो । पलिस्थाले १५ हजार तथा राहुलले १० हजार नगद पुरस्कारसहित प्रशंसा पत्रबाट सम्मानित भए ।
महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले नेपाललाई स्वर्ण दिलाएकी थिइन् । पलिस्थाले भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । राहुलले पुरुष ५७ केजीमा कांस्य जितेका थिए । ब्राजिलका खेलाडीलाई हराउदै राहुल सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसंग चुकेपछि राहुल कांस्यमै सीमित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सदस्य–सचिव विष्टले पदक विजेता खेलाडीलाई राखेपले पनि चाँडै नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

Comment