प्रणव शिखरको ब्रान्ड एम्बसडर

शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसमा प्रणवलाई ब्रान्ड एम्बसडर वापत मासिक नगद प्रदान गर्नुका साथै प्रशिक्षणका लागि आवश्यक सामाग्री खरिद गर्न रकम पनि उपलब्ध गराउने छ । आठ वर्षको उमेरदेखि लनटेनिस खेल्न सुरु गरेका प्रणवले इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदसहित एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । २०११ मा भियतनाम भएको प्रतियोगिता प्रणवको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यत्तिखेर उनी ११ वर्षका थिए । १७ वर्षीय प्रणवले हालसम्म चार अन्तर्राष्ट्रिय पदक जितेका छन् । उनले कतारमा २०१४ र २०१५ मा भएको कतार एसियन यु–१४ जुनियर टिम कपमा कांस्य, २०१८ मा भारतमा भएको खुला आईटीएफ जुनियर टेनिसको डबल्समा कांस्य तथा २०१८ मै भारतमै भएको तेन्जिङ नोर्गे स्मृति खुला टेनिसमा स्वर्ण जितेका थिए । सिंगल्समा १० औं सहवीर स्मृति खुला लनटेनिसमा स्वर्ण, सहवीर स्मृतिकै ८ औं संस्करणमा रजत, प्रथम बुटवल खुला लनटेनिसमा स्वर्ण तथा पाँचौं सिटिजन्स बैंक खुला लनटेनिस र सातौं राष्ट्रिय खेलकुदमा जितेको कांस्य  घरेलु प्रतियोगितामा प्रणवले हासिल गरेको मुख्य उपलब्धि हुन् । प्रणवले प्रायोजनले आफ्नो खेलमा अझ सुधार ल्याउन मद्दत पुग्ने बताउदै प्रायोजनका लागि शिखरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले टेनिसमा धेरै कम खेलाडीले मात्र प्रायोजक पाइरहेको अवस्थाको अन्त्य गर्न आफ्नो खेलमा सुधार गर्दै अन्य संस्थालाई पनि प्रायोजनका लागि आकर्षित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख कार्यकारी पाण्डेले टेनिस खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सानो सुरुआतका रुपमा प्रायोजन गरेको बताउदै शिखरको तर्फबाट चाँडै नै टेनिस प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी गराए । नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रणवको खेलको कदर गर्दै प्रायोजन गरेकोमा खुशी व्यक्त गर्दै शिखरलाई धन्यवाद दिइन् ।

Comment