एक भयो मोर्डन पेन्टाथलन


अस्तित्वमा रहेको दुई मोर्डन पेन्टाथलन संघको आइतबार एकिकरण भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, दुवै संघका प्रतिनिधिलगायतको उपस्थितिमा संघ एकिकरणको घोषण गरियो ।

   राखेपका सदस्य समेत रहेका राजेन्द्र श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरी एकिकरण गरिएको हो । २०७० साल असार १९ गते गठन गरिएको मोर्डन पेन्टाथलन एसोसिएसनको अध्यक्षमा स्वयं तिम्सिना थिए भने २०७२ साल फागुन १२ गते गठित मोर्डन पेन्टाथलन फेडेरेसन नेपालको अध्यक्षमा राजेन्द्र श्रेष्ठ अध्यक्ष थिए ।

   वरिष्ठ उपाध्यक्षमा बालचन्द्र रानाभाट र मोहनकुमार डाँगी तथा अन्य पाँच उपाध्यक्षमा शकुन्तला नगरकोटी, अरुणप्रकाश श्रेष्ठ, भगवती विष्ट, राजु दर्शन र गोपाल न्यौपाने छन् । यादवबहादुर बस्नेत महासचिवमा यथावत् रहँदा इन्दिरा निरौला उपमहासचिव, रामहरि सिलवाल, यदुकुमार बस्नेत र नारायण पौडेल सचिव, राकेशमान कर्माचार्य कोषाध्यक्ष र शैलेन्द्रमान श्रेष्ठ सह–कोषाध्यक्षमा चयन भए ।

   सदस्यमा धावा रुम्बा, किरण गिरी, निषेश चापागाईं, रचना लाखे मोरु, मुकुन्दहरि श्रेष्ठ, रिनेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति, राजेश श्रेष्ठ र भीमप्रसाद सुवेदी रहेका छन् ।

   सहजीकरण समितिले योसहित दुई संघको एकिकरण गरेको छ । यसअघि गत माघ ९ गते ध्रुवबहादुर प्रधानको अध्यक्षतामा अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघको एकिकरण गरेको थियो । सहजीकरण समिति गते भदौ १८ गते गठन गरिएको हो ।
Comment