क्योकुसिन कराते टोली भारत जाने


अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार भारतको मुम्बइ प्रस्थान गर्दैछ । जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ५० केजीमा दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५० केजीमा शान्ति थापा मगर तथा खुलामा मञ्जु विक सहभागी हुने छन् ।
प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवतीप्रसाद सापकोटा तथा व्यवस्थापकमा विनोद पराजुली र अशोकजंग दनुवार रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एसोसिएसन (आईएफकेके) का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment