गुणराज सम्मानित

नेपाल राष्ट्रिय मुवाँथाइ संघले गुणराज रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्ड र नगदसहित आइतबार सम्मान गरेको छ । गत वर्ष गरेको प्रदर्शनका आधारमा गुणराजलाई अवार्डसहित नगद २० हजार रुपैयाँ प्रदान गरिएको मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको १५ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा सहभागी गुणराजले नेपालमा भएको तेश्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँथाइमा स्वर्ण जितेका थिए । अध्यक्ष कक्षपतिका अनुसार गुणराजले गत डिसेम्बरमा कम्बोडियामा सम्पन्न दोश्रो खुनखेमर विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गुणराजलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति प्रमुख सेनानी शशिकिरण रायमाझीलगायतले नगद, अवार्ड र सम्मान पत्र प्रदान गरे ।

Comment