रवि सम्मानित

नेपाल वादोकाइ कराते संघ शाखा डोजो मानसिंह र जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ, शाखा डोजो पारामाउन्ट एकेडेमीले करातेका रवि शाहीलाई सम्मान गरेको छ ।
लामो समयदेखि युएईमा रहि कराते खेलको विकास र विस्तारमा योगदान पु¥याए वापत रविलाई सम्मान गरिएको हो । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघका केन्द्रीय सचिव सुमन तिमिल्सिना र मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले रविलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सन् २००७ मा रोजगारीको सिलसिलामा रवि दुबई गएका थिए । करिब ३ वर्ष रवि दुबईस्थित कुरियर कम्पनीमा कार्यरत रहे । २०१० देखि भने रवि दुबईमै करातेको प्रशिक्षण क्षेत्रमा हालसम्म संलग्न रहँदै आएका छन् । सन् २०१० मा रविले दुबईमै रहेको जापान कराते सेन्टरमा प्रशिक्षण गराउने अवसर पाएका थिए ।
हाल रविले दुबईमा रहेका अन्य नेपाली खेलाडी साथीहरुसंग मिलेर एभरेष्ट मार्सल आर्ट क्लब सञ्चालन गरिरहेका छन् । रवि क्लबका टेक्निकल डाइरेक्टर तथा प्रमुख प्रशिक्षक पनि हुन् । हीरालाल श्रेष्ठको अध्यक्षतामा गठित राष्ट्रिय खेलाडी तथा प्रशिक्षक संघ, युएईका रवि संरक्षक समेत हुन् । सम्मानपछि रविले मानसिंह डोजोमा रहेका खेलाडीलाई करिब २ घण्टा प्रशिक्षण पनि दिएका थिए ।

Comment