करातेमा नेपाललाई ७ स्वर्ण


भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागी नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडिहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।
नेपालको तर्फबाट ९ देखि १० वर्ष उमेर समुहमा रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा बंगलादेशलाई ८–० र फाइनलमा श्रीलंकालाई ८–० ले हराउँदै स्वर्ण पदक पक्का गरेका थिए । पुरुषको सिनियर ७५ किलो तौल समुहमा सोनम बलामीले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाए । उनले सेमिफाइनलमा श्रीलंकालाई ५–० अन्तरले हराउँदै फाइनलमा भारतलाई ४–१ ले पराजित गरेका थिए भने पुरुषकै एकल काता तर्फ दोस्रो स्थान हासिल गरे । यसैगरी महिला तर्फ सिनियर ५५ किलो तौल समुह र एकल कातामा रश्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् भने महिला खुल्ला तौल समुहमा पनि जापानसँग कडा प्रतिष्पर्धा गर्दै ८–१ ले पराजित हुँदै रजतमा चित्त बुझाइन् । यस्तै महिला १६–१७ उमेर समुहको ५० किलो तौल समुहमा दिलाशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाईन् । उनले सेमिफाइनल चरणमा भारतलाई ३–१ ले र फाइनलमा भारतकै खेलाडिलाई ४–२ ले हराउँदै पुनः अर्को स्वर्ण पदक दिलाईन ।
त्यसैगरी वाङचुक तामाङ्गले पुरुषको १५–१६ वर्ष समुहको ९क्याडेट० एकल कातामा स्वर्ण जिते । उनले पहिलो चरणमा श्रीलंकालाई ३–१ र फाइनलमा बंगलादेशलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेका थिए । यसअघि उनले सोही उमेर समुहको एकल कातामा सेमिफाइनलमा नेपालसँगै पराजित हुँदै काँस्य पदक प्राप्त गरेका थिए । त्यसैगरी पुरुष तर्फकै सिनियर ५५ किलो तौल समुहमा रामविश्वास राउत कुर्मीले सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका थिए भने फाइनलमा श्रीलंकालाई २–१ ले पराजित हुँदै काँस्य पदकमा चित्त बुझाए ।
डिसेम्बर २२ र २३ तारिखमा सञ्चालित भएको उक्त प्रतियोगितामा सहभागी हुन नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’को नेतृत्वमा १४ सदस्यीय टोली भारतको मुम्बई तर्फ शनिवार प्रस्थान गरेका थिए । टोलीमा अफिसियल तर्फ पुष्पराज गिरी, मोहम्मद जावेद मुसलमान, आश्मा बानु र टिम व्यवस्थापक तर्फ रामबहादुर गुरुङ्ग रहेका थिए । उक्त प्रतियोगितामा जुनियर तर्फ नेपालका रेहान जावेद र सिनियर तर्फ नेपालकै सोनम बलामी उत्कृष्ठ खेलाडि घोषित भएका थिए । विजेता खेलाडिहरुको टोली मंगलबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अखिल नेपाल खेलकुद महासंघका महासचिव एवं शाखा डोजो नक्सालका सल्लाहकार कालिबहादुर घर्तिमगरलगायतले स्वागत गरेका थिए ।

Comment