महेश्वरको भब्य स्वागत


विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिले सम्मकै ठूलो र एक मात्र उपलब्धी हो । विश्व शारीरिक सुगठनमा नेपालले रजत मात्र जितेको छ । यसअघि गत वर्ष मंगोलियमा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत जितेका थिए ।
महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन् । महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए । ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन् ।
महेश्वरलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्तलगायतले भब्य स्वागत गरेका थिए ।
महेश्वरले विश्व शारीरिक सुगठनमा स्वर्ण जित्दै इतिहास रचेकोमा खुशी व्यक्त गर्दै आफ्नो सपना साकार भएको बताए ।
उपाध्यक्ष तिम्सिनाले इतिहास रचेका महेश्वरलाई उचित पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल सरकार समक्ष चाँडै सिफारिस गर्ने बताए ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रुपमा महेश्वरलाई प्रोत्साहन स्वरुप ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । ‘महेश्वरजीले विश्व शारीरिक सुगठनमा स्वर्ण जितेर नेपाली शारीरिक सुगठनको मात्र नभइ सिंगो राष्ट्रको शिर उच्च बनाउनु भएको छ । उहाँलाई प्रोत्साहन र सम्मान स्वरुप ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ अध्यक्ष श्रेष्ठले भने ।

Comment