सागलाई लक्षित गरी विशेष प्रशिक्षण सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ ।

हाललाई इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ । एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् । प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । उक्त पदक नेपालले १८ औं एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए ।

माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मंसिर २५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ ।

 

Comment