नारायण प्रधान पाँचौ कार्यकालका लागि अध्यक्षमा निर्वाचित

शारिरीक सुगठनको माउ संस्था नेपाल ब्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान पाँचौं कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।२०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको हालको विधान अनुसार दुई कार्यकालका लागि मात्र अध्यक्ष हुन पाउने प्रावधान रहेको छ । तर प्रधान विधान संसोधन हुनु अघि पनि तीन कार्यकाल ब्यायाम मन्दिरको अध्यक्ष भई सकेका छन् ।

अध्यक्षमा निर्वाचित भए पश्चात प्रधानले आफुले ब्यायाम मन्दिरको विकास, बिस्तार र उत्थानमा गरेको योगदानको कदर गर्दै सदस्यहरुले पुनः पाँचौ कार्यकालको लागि पनि आफुलाई जिम्मेवारी सुम्पेकोमा सवै मतदाता प्रति आभार ब्यक्त गरे । यस्तै अजय बज्राचार्य ब्यायाम मन्दिरको प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । उनी यस अघिको कार्यसमितिमा महासचिव रहेका थिए । यस्तै रत्नलाल मानन्धर पनि द्वितीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । ब्यायाम मन्दिरको विधानमा दुई उपाध्यक्षको प्रावधान रहेकोमा संस्थालाई अझ चुस्त दुरुस्त राख्नका लागि विधान संसोधन गरि थप तीन उपाध्यक्ष नियुक्त गरिने अध्यक्ष प्रधनले जानकारी गराए । विधान संसोधन पश्चात दिनेश राजभण्डारी, नानीकाजी डङ्गोल र रविन्द्र कपालीलाई उपाध्यक्षमा चयन गरिने अध्यक्ष प्रधानले बताए । यसका लागि साधारण सभाबाट स्विकृती प्रदान भई सकेको पनि अध्यक्ष प्रधानले बताए ।

ब्यायाम मन्दिरको महासचिवमा सूर्य प्रसाद जोशी ५२ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्दि प्रतापकाजी बरियाले २७ मत प्राप्त गरे । यस्तै प्रशान्त सिंह आफ्ना प्रतिद्वन्दि ईश्वर श्रेष्ठ भन्दा ९ मत बढि प्राप्त गर्दै ४३ मतका साथ कोषाध्यक्षमा निर्वाचित भए । ईश्वरले ३४ मत प्राप्त गरे । निर्वाचनमा कुल ८० मत खसेको थियो । जसमा एक मत बदर भएको थियो ।

यसैगरि ब्यायाम मन्दिरको ६ सदस्यीय पदका लागि ८ जनाको उम्मेदवारी परेकोमा दिनेश श्रेष्ठ सर्वाधिक ७१ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । यस्तै अनिललाल श्रेष्ठ र रेण बहादुर बासुकलाले समान ६५ मत, रोशन महर्जन र निशान्त अमात्यले समान ५७ मत तथा ईश्वर खड्गीले ५४ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भए । अर्का उम्मेदवार संजीव श्रेष्ठले ४५ र राजन कुमार श्रेष्ठले ४३ मत प्राप्त गरे ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई निर्वाचन आयुक्त घनश्याम मुखियाले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । घनश्याम मुखियाको संयोजकत्वमा सरोज कुमार श्रेष्ठ र संस्थाका कानुनी सल्लाहकार कुमार भट्टराईको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

Comment