धनगढी र बुटवलको जित

पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । धनगढीको यो पहिलो जित हो । विराटनगर भने लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि पहिलो खेलमा धनगढी काठमाडौं रोयल्ससँग पराजित भएको थियो भने विराटनगर पोखरा पल्टनसँग पराजित भएको थियो ।
१ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा १ सय ४ रन जोडेर सम्पूर्ण विकेट गुमाएको हो । विराटनगरका मोहम्मद जाहिद आलामलले १९ र आन्द्रु सुबिक्सनले १८ रनको योगदान गरे । धनगढीका डेविड लोरेन्सले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढले पिटर ट्रिगोको अर्धशतकीय पारी र सँगै सौरभ खनालको विस्फोटक ब्याटिङको सहयोगमा ९ विकेट गुमाउदै १ सय ८२ रन जोडेको थियो । पिटरले ३८ बलमा ५३ रन तथा सौरभले अन्त्यतिर १३ बलमा ४१ रनको योगदान गरे । विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । पिटर खेलका म्यान अफ द म्याच समेत घोषित भए ।आइतबार नै भएको अर्को खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले हरायो । बुटवलले छाडेको १५१ रनको लक्ष्य पछ्याएको पोखरा नौ विकेट गुमाउदै ११७ रनमा सिमित भयो । बुटवलका लागि म्यान अफ द म्याच घोषित रोहन मुस्ताफाले ३५ बलमा ४५ रनको योगदान गरे । उनले दुइ विकेट समेत लिए ।

Comment