जुडो टोलीको बिदाइ

अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन् । महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन् । आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य समेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन् । वज्राचार्य शुक्रबार जाँदैछन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ ।
दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरु त्यत्तैबाट बाकु जाने जुडो संघले जनाएको छ । मोहन बाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।

Comment