तेक्वान्दो टोलीको बिदाइ


भियतनामको होची मिन्हमा हुने २३ औं एसियाली तेक्वान्दो, ५ औं एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुषको ५४ केजीमुनि मनोज मल्ल र ७४ केजीमुनि दुर्गाबहादुर थापा तथा महिला ४९ केजीमुनि कल्पना चौधरी र ५७ केजीमुनि सीता तामाङले २३ औं संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुम्सेको ३० वर्षमुनि पुरुषमा कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले सहभागिता जनाउने छन् ।
पारातर्फ पुरुष ५८ केजीमुनि गोविन्द थापा र ६१ केजीमुनि रामबहादुर अधिकारी तथा महिला ५८ केजीमुनि सीता भण्डारी र ५८ केजीमाथि पलेशा गोवर्धनले भाग लिने छन् ।
प्रशिक्षकमा टार्जन सुब्बा र प्रकाशमान राजभण्डारी तथा निर्णायकमा नवीनकुमार श्रेष्ठ रहेका छन् । पारा खेलाडी, २ प्रशिक्षक र निर्णायक आइतबारै भियतनाम प्रस्थान गरिसकेका छन् । बाँकी टोली जेठ ८ र ९ गते जाने कार्यक्रम रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ । प्रतियोगिता जेठ १० देखि १४ गतेसम्म हुनेछ ।

Comment