कराते छनोट ः अनुको निरन्तरता, नबीन पनि टोलीमा

नबीन रसाइली
अनु अधीकारी

इन्डोनेसियामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट भएका छन् । समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी छनोट भएका हुन् । छनोट भएका एक बाहेक सबै विभागीय टोलीका खेलाडी हुन् । पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौंका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ छनोट भए । महिला एकल कातामा प्रहरीकी चन्चला दनुवार, ५० केजीमा एपीएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रिता कार्की छानिए । सुनिता पछिल्लो पुस्ताकी खेलाडी हुन् भने अनु यस टोलीमा रहेका मध्यहालसम्मकै सबै भन्दा सफल खेलाडी हुन् । ढाका सागकी रजत विजेता अनु ग्वाङझाउमा भएको एसियाड छनोटमा एक पटक पराजित भएकी थिइन् भने अन्यमा लगातार सफलता पाएकी छिन् । नबीन रसाइली बालाजु कराते एकेडेमीका उत्पादन हुन् । नबीनले एसियाली कराते च्याम्पियनसीपमा समेत आकर्षक प्रदर्शन गरिसकेका छन् ।
दक्षिण कोरियाको इन्चोनमा भएको गत संस्करणमा करातेले नै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । त्यसबेला विमला तामाङले महिला एकल कातामा जितेको कांस्य पदक नै नेपालको एक मात्र पदक थियो ।
१८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बैशाख १० गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक सोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् ।

Comment