अजय र दिनालाई स्वर्ण

union
पश्चिमाञ्चलकाद्वय अजय रिजाल र दिना तामाङले चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०७१ मा मंगलबार स्वर्ण जितेका छन् ।
राष्ट्रिय तेक्वान्दो युनियन– नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ५८ केजी मुनि फाइनलमा अजयले सुदूरपश्चिमाञ्चलका जनक जोशीलाई पराजित गरे । महिलाको ४६ केजीमुनि दिनाले मध्यमाञ्चलकी सिर्जना पुलामीलाई हराइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको महिला ४० केजीमुनिको सेमिफाइनलमा राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघकी रुपा थापाले पूर्वाञ्चलकी सुजिता दर्जी तथा विश्वविद्यालयकी सन्तोषी बुढाथोकीले सुदूरपश्चिमाञ्चलकी सीता विकलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुषको ५० केजी मुनि पश्चिमाञ्चलका सन्तोष आले मगरले विश्वविद्यालयका रन्जित तामाङ तथा महासंघका विवेक बस्नेतले मध्यमाञ्चलका सन्जय श्रेष्ठलाई निराश पार्दै फाइनलमा पुगे । पुरुष ५४ केजीमुनि पश्चिमाञ्चलका रविन अधिकारीले पूर्वाञ्चलका कर्ण मगर तथा मध्यपश्चिमाञ्चलका नविन खड्काले विश्वविद्यालयका मनोज लामालाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
प्रतियोगिताको सभासद् गणेशमानपुनले प्रमुख जुरी हरिबहादुर बुढाथोकीलाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघ र विश्वविद्यालय गरी ७टिमका १ सय ४० खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको युनियनका महासचिव राजकुमार कार्कीले जनाएकाछन् । युनियनका अध्यक्ष शिव कोइरालाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पुरानो बानेश्वरस्थित लोयला उमाविका विद्यार्थीले आकार्षक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

Comment